भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताउनुभयो । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो । समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ । कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताउनुभयो ।
तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार आजै लक्ष्मी पूजा मनाउन लागिएको उहाँले बताउनुभयो । यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात् आज परेकोले लक्ष्मी पूजा पनि आजै गर्न लागिएको हो । धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् ।
कुन राशिलाई कस्तो प्रभाव ?
समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।
कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ : २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ : ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।