हेटौंडा–आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।
कार्यक्रममा गठबन्धन दल नेकपा एकीकृत समाजवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँ, नेकपा माओवादीकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ क की उम्मेदवार कुमारी मोक्तान, नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, राष्ट्रिय जनमोर्चाका सचिव दिनेश विष्ट, कांग्रेस महासमिति सदस्यद्वय जयराम लामिछाने र उमा दाहाल, कांग्रेस मकवानपुर सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन परिचालन समिति जिल्ला संयोजक बुद्ध लामा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोनामसिं स्याङतान, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको हाे ।











