मकवानपुर – आगामी मंसिर ४ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, प्रजिअ राजेन्द्र देव पाण्डे, मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले संयुक्त रुपमा कार्यालय उदघाटन गर्नु भएको हो । कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत निरौलाले जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गर्नुभयो । उहाँले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत निरौलाको अध्यक्षता भएको कार्यक्रमममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, निर्वाचन अधिकृत मुकुन्द हरि पौडेल, निर्वाचन आयोग वागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतम, अन्य सुरक्षा प्रमुखलगायत मकवानपुरका विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।