मकवानपुर – बढ्दो आत्महत्या रोकथाम, न्युनिकरण तथा सचेतनाका लागी आईतबार हेटौंडामा सचेतनामुलक कार्यक्रम भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बागमती प्रदेश स्तरिय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आत्महत्या रोकथाम न्युनिकरणका सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रहरीले देशव्यापी संचालन गरेको कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताउनु हुँदै उहाँले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई झकझकाएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लागि नीति बनाउन फलदायी हुने बताउनु भयो । मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानिसको जीवन अमुल्य भएकोले यसलाई जोगाउन सवै पक्षले आ–आफ्नो तबरबाट लाग्नुपर्ने र यस किसिमको सचेतनामुलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगतदेखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा आगामी दिनहरुमा अझ बढी सक्रियताका साथ कार्य गर्ने बताउनुभयो । बढ्दो आत्महत्या न्युनिकरणको लागि तत्कालै नीति बनाउन जरुरी रहेको तथा सचेतनामुलक कार्यक्रममा समेत सवै पक्षको समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमानै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले कार्यक्रमबारे प्रकाश पार्नुका साथै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नु भएको थियो । रेग्मद्धारा प्रस्तुत प्रतिवेदन अनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा ९०२ जनाले आत्महत्या गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लगायत बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, मकवानपुर स्थित विभिन्न पालिकाहरुका प्रमुखहरुलगायत सरोकारवालाहरुको सहभागी थियो ।