राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले आज प्रकाशित गरेको हो ।
यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ लेख्ने उल्लेख छ । नन ग्रेडिङमा परेका विद्यार्थीहरूले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४ हजार १ सय ७९ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७, २.८१ देखि ३.२० जीपीए ल्याउने ६५ हजार २८४, २.४१ देखि २.८० जीपीए ल्याउने ६४ हजार ९३ र २.०१ देखि २.४० ल्याउने १० हजार ९ सय रहेको छ ।
त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ ।
यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np
२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np
SMS सेवा :
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।
IVR सेवा :
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।