काठमाडौँ । कोभिड महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणनाको मूल गणना कार्य आगामी कार्तिक २५ गतेदेखि हुने भएको छ । केन्द्रिय तथ्याङ्क विभागले बुधबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणनाको मूल गणनाको काम आगामी कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्ममा सम्पन्न गर्ने जानकारी दिएको हो ।
विभागले १२औँ राष्ट्रिय जनगणनाका लागि ४९ हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाउने भएको छ । जनगणना सफल बनाउन विभिन्न तहमा कुल एक हजार ७ सय ११ जना प्रशिक्षक समेत तयार गरेको छ । आगामी १२ औँ जनगणनामा घरको प्रयोजन, उद्योग तथा कलकारखाना, सरकारी अनुदानका भवन, बैङ्क तथा वित्तीय संस्थामा व्यक्तिगत खाता तथा ऋण भए/नभएको, भाषा र धर्म लगायतको तथ्याङ्कलाई व्यवस्थित गर्न थप व्यवस्थासहितका ८० वटा प्रश्न तयार गरिएको विभागका महानिर्देशक नेबिन लाल श्रेष्ठले जानकारी दिनुभयो । गणकले एक परिवारमा करिब २० मिनेटमा मूल गणना काम सम्पन्न गर्न सक्ने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव एवम् प्रमुख तथ्याङ्क अधिकृत केवल प्रसाद भण्डारीले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै गणकहरूले गणना कार्य सम्पन्न गर्ने जानकारी दिनुहुँदै यस महत्त्वपूर्ण तथा संवेदनशील कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउन विभागले ७ वटै प्रदेशमा प्रदेश जनगणना कार्यालय, ८० वटा जिल्ला जनगणना कार्यालय र ३ सय ४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना हुने विभागले जनाएको छ । विभागले मूल गणना अघि भदौ २० गतेदेखि सुपरिवेक्षकको नियुक्ति, तालिम, घर र तथा घरपरिवार सूचीकरण, गणकको नियुक्ति तथा गणकका लागि आवश्यक तालिम लगायतको काम गर्ने कार्य तालिका समेत सार्वजनिक गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न पारिश्रामिकवापत करिब २ अर्ब ८० करोड रुपैयाँसहित कुल ४ अर्ब रुपैयाँ लागत रहने अनुमान गरेको छ ।