हेटौंडा – नेकपा एमाले, मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मिति, मापदण्ड र प्रक्रिया तोकेको छ । एमाले मकवानपुरको आज बसेको जिल्ला कमिटी सचिवालयकाे बैठकले उम्मेद्वार सिफारिसका लागि मिति, मापदण्ड र प्रक्रिया ताेकेको हो ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षता तथा केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाकाे प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष निर्वाचनकाे लागि भाद्र १८ गते र १७ गते सम्बन्धित कमिटीकाे बैठक बसी सिफारिस गर्ने निर्णय गरेकाे जिल्ला सचीव नवीन सिग्देलले जानकारी दिनुभयो । बैठकले जिल्लाबाट प्रत्यक्ष र समानुपातिकतर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे उम्मेद्वारकाे अन्तिम सिफारिसकाे लागि १९ गते जिल्ला सचिवालय बैठक र २० गते जिल्ला कमिटीकाे पूर्ण बैठक बस्ने उहाँले बताउनु भयाे । विधान अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा समन्वय समितिमा सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, पालिका कमिटीका पदाधिकारी, पार्टी वडा कमिटीका अध्यक्ष, आमन्त्रित सदस्य,निर्वाचित पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष रहने व्यवस्था रहेकाे सचिव सिग्देलले बताउनुभयाे । उम्मेद्वार सिफारिस गर्दा पार्टीकाे नीति र कार्यक्रमप्रतिकाे प्रतिबद्वता, लाेकप्रियता र विजयकाे सुनिश्चिता, पार्टीप्रतिकाे निष्ठा र आन्दाेलनमा याेगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमाेजिमकाे याेग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन रहेकाे बताईएकाे छ । बैठकले १ महिलासहित ३ जनाकाे सिफारिस गर्नसक्ने प्रावधान रहेकाे छ उहाँले बताउनुभयो । बैठकमा कमिटीका सदस्यहरूले विभिन्न महत्वपूर्ण सुझाव व्यक्त समेत गर्नुभएको थियो ।
बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अनन्त पाैडेल, प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा रामचन्द्र राई, (ख) मा गाेपाल श्रेष्ठ, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा डाेरमणि पाैडेल, प्रदेशसभा क्षेत्र नम्बर (क) मा नवराज तिमल्सिना,( ख) मा एकराज उप्रेतीलाई सहजकर्ता ताेकेको उहाँले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्ताैलालगायत प्रदेश सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।