हेटौंडा- कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् ।
यो बर्ष गाउँपालिकाले प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिइने अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । छात्रवृत्ति पाएका विद्यार्थीहरूले नामटारमा रहेको कालिका मा.वि. प्राविधिक शिक्षालयमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गरि साउन २६ गतेभित्र गाउँपालिका कार्यालयमा विवरण बुझाउन सबै वडा कार्यालयहरूलाई निर्देशन गरिएको छ । गएको बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरिएको अध्यक्ष मुक्तानको भनाई छ । उहाँले चुनावको समयमा गरिएका प्रतिबद्धतालाई क्रमशः पूरा गर्दै जाने बताउनुभयो ।