file photo

सप्तकोसी नदी बस्तीमा छिरेपछि विस्थापित भएका उदयपुर बेलका नगरपालिकाका नागरिक घर फर्किन थालेका छन् । पानीकाे सतह कम भएपछि बस्न कुनै पनि समस्या नभएकोले उनीहरू घर फर्कन थालेका हुन् । कतिपय भने सरकारी जग्गामा बस्दै आएको र शिविरमा बस्दा सरकारले आफ्नो घर जग्गा कब्जा गर्छ कि भन्ने डरका कारण पनि शिविरमा बस्न नमानेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार हिजो बुधवार एक हजार जनाभन्दा धेरैलाई उद्धार गरिएकामा धेरैजसो प्रशासनसँग कुनै पनि सल्लाह नै नगरि घर फर्किएका छन् । एक हजार जनामध्ये अहिले एक सय जनामात्रै अस्थायी शिविर र आफन्तकोमा आश्रय लिएका उहाँले बताउनुभयो । दुई वटा घर भएकाहरू आफ्नो अर्को घरमा गएर बसेका पाइएको उहाँले बताउनुभयो । नदी बस्तीमा पस्नुभन्दा अगाडि नै सबै सामानसहित सुरक्षित ठाउँमा सारिएकाले अहिले उनीहरूलाई खान तथा बस्नको कुनै समस्या छैन । फेरि नदीमा पानीको बहाव बढ्छ कि भन्ने शङ्काले मात्र बस्तीमा फर्कन हतार नगर्नुहोस् भनिएको पोख्रेलको भनाइ छ । हिजो बिहान सप्तकोसीकाे भङ्गालो फुटेर बस्तीमा पस्दा उदयपुर र सप्तरीका केही बस्ती डुबान र कटानमा परेका थिए । सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण–पश्चिम क्षेत्रमा पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।