कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्याको आधारमा भारत दोस्रो स्थानमा पुगेको छ । यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल भने तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका कायमै छ । भारतमा अहिलेसम्म ४१ लाख ३१ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भारतमा एकैदिन ९० हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्याको आधारमा दोस्रो स्थानमा पुगेको हो । केही हप्तायता भारतमा कोरोनाका सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।
भारतमा सङ्क्रमितमध्ये अहिलेसम्म ३१ लाख ९५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने सङ्क्रमणका कारण ७० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म ६४ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ९२ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी ब्राजिलमा अहिलेसम्म ४१ लाख २३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिँदा एक लाख २६ हजारभन्दा धेरैको ज्यान गएको छ ।