हेटौंडा– नेपालमा मल रासायनिक कारखाना खोल्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।
मल कारखानाबारे भएका पुरानो अध्ययन र अबका सम्भावनाबारे परामर्श तथा छलफल गरेर कार्यदलले प्रतिवेदन तयार गर्ने र सोहीअनुसार थप कार्य अगाडि बढाउने मन्त्री भुसालको भनाइ थियो । लगानी बोर्ड र १९८० को दशकमा डोनीडाले गरेको अध्ययन प्रतिवेदन पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ । मल कारखानाको सम्भावनाबारे विभिन्न मन्त्रालयले पटक/पटक छलफल गरेको भए पनि त्यस्तो छलफलमा कृषि मन्त्रालय सहभागी नभएको आफूले पाएको उहाँले बताउनुभयो ।