हेटौंडा – नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले आगामी संसदीय निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टीको रुपमा स्थापित हुने बताउनुभयो । नेकपा एमाले बकैया गाउँपालिका कमिटीको बैठकमा सम्बोधन गर्दै स्थानीय तह निर्वाचनमा प्राविधिक रुपमा केही सिट संख्या कम आएपनि जनमत एमालेको पक्षमा रहेको बताउँदै सिंगो पार्टी पङ्तीलाई एकजुट भएर निर्वाचन केन्द्रीत हुन आग्रह गर्नुभयो ।
उहाँले सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पुरा गर्न, जनताको अपेक्षा पुरा गर्नको लागि आगामी सरकार एमालेको हुनुपर्ने बताउनु भयो । समाजवादी धुर्वको नेतृत्व एमालेले गरेको र नवउदार धु्र्वको नेतृत्व नेपाली काँग्रेसले गरेको बताउँदै नेपाली समाजवादको यात्रा नेकपा एमालेबाट मात्र सम्भव भएको बताउनु भयो । गठबन्धन सरकारलाई नेपाल र नेपालीको चिन्ता भन्दा पनि विदेशीलाई रिजाउन लागेको र यसले मुलुकमा राष्ट्रघात, जनविरोधी क्रियाकलाप, मंहगी, भ्रष्टाचारको मारमा नेपाली जनता परेको र यसबाट देश र जनतालाई मुक्त गर्न पनि नेकपा एमालेको सरकार बन्नुपर्ने बताउनु भयो ।
बैठकमा नेकपा एमाले पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कृष्णप्रसाद दाहालले गठबन्धन जति लम्बिन्छ, समस्या त्यति नै बढ्ने बताउँदै यसको प्रभावले नै व्यापारघाटा बढेको, आर्थिक रुपमा मुलुक चौपट भएको र यो क्रम बढे राष्ट्र नै आर्थिक रुपमा टाट पल्टने बताउनुभयो । दाहालले भन्नुभयो– “गठबन्धन राष्ट्रलाई दोहन गर्न, मिलेर लुटेर खानको लागि मात्र निर्माण भएकोले अबको निर्वाचनबाट जनताले गठबन्धनलाई जनमतबाट विस्थापन गर्नुको विकल्प छैन ।”
बैठकले पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य फर्म भर्ने, पार्टी प्रवेशलाई व्यवस्थित बनाउने, पार्टीको टोल कमिटीसम्म, जनसंगठनको वडा कमिटीसम्म संगठन व्यवस्थित बनाउने पालिका र वडास्तरीय प्रशिक्षण आयोजना गर्ने निणर्य गरिएको र पालिकाको १२ वटै वडामा अभियान टोली निर्माण गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देलले बताउनु भयो ।
अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु पद्मा पौडेल, नारायण सापकोटा, डिल्लीप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्यहरु दलबहादुर वाईवा, कृष्णप्रसाद चौलागाई, जिल्ला सदस्यहरु बेलप्रसाद दाहाल, रामबहादुर गोले, सरला बोलखे, रामबहादुर मुक्तान, निरमाया तामाङ्ग, राजन दंगाललगायतको आथित्यता रहेको पालिका सचिव फूलमान बम्जनले बताउनु भयो । बैठकले साउन २८ गते पालिकास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निणर्य समेत गरेको छ ।











