सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गरिने बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले कार्य सम्पादन करार निर्देशिका २०७९ स्वीकृत गर्ने र विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, मध्य भोटेकोशी जलविद्युत आयोजनको २२० के.भी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काई वाक निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, उपत्यका भित्रका प्रसारण लाइन, सब स्टेसनहरूको सुधार, स्तरोन्नति र विस्तारका लागि जग्गा प्राप्ति तथा प्रारम्भिक कारबाही चलाउने अधिकारी तोकिने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो । सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मन्त्रिपरिषद्का निर्णयहरू:
कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने ।
वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सब–स्टेसनका लागि जग्गा प्राप्त गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
उपत्यकाभित्रका प्रसारण लाइन तथा सब–स्टेसनहरूमा संरचनात्मक सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाई बनावट हेरफेर गर्न स्वीकृत दिने ।
सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने ।
मध्य भोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वनक्षेत्र प्रयोग गर्न दिने ।
कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने ।
भेडेटार स्काई वार्प निर्माणका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने ।
महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुखहरू हटाउने सम्बन्धमा
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा श्री शीतल साहू पूर्वे, धनुषालाई नियुक्त गर्ने ।
निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने ।
श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने ।