मकवानपुर – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कृषिको माध्यमबाट मात्र नेपालमा आर्थिक क्रान्ति र विकास सम्भव रहेको बताउनुभएको छ । प्रवासबाट (वैदेशीक रोजगारीबाट) फर्किएका व्यक्तिहरुको समुहद्धारा हेटौंडामा बुधबारबाट सञ्चालनमा ल्याएको कृषि मार्टको शुभारम्भ गर्नुहुँदै पौडेलले कृषि र पशुपालनलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।
पौडेलले विदेशमा सिकेका सीप आफ्नो देशमा ल्गाउनु राम्रो भएको भन्दै खरबौको खाद्यान्न आयात रोक्न नेपालमा कृषि उत्पादन बढाएर त्यस्लाई बजारीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले उत्पादनसंगै बजारीकरणका लागि सहकारी–सहकारीबिच समन्वय गरेर एउटा जिल्लामा उत्पादन भएका सामग्री अर्को जिल्लामा निर्यात गर्ने वातारण सृजना गर्नुपर्ने बताउनुभयो । ढिलै भएपनि बिदेशको अनुभव नेपालमा प्रयोग गरेकोमा खुशी व्यक्त गर्नुहुँदै उहाँले संस्थाले उत्पादनसङ जोडिएर रोजगार सिर्जना गनुपर्ने बताउनुभयो । संस्था सुरु गरेपछि त्यस्लाई गन्तव्यमा पुर्याउनु पर्ने भन्दै संस्थाको ब्यबस्थापनलाई बिषेश ध्यान दिन सुझाव दिनुभयो ।
प्रवासबाट (वैदेशीक रोजगारीबाट) फर्किएका व्यक्तिहरुको समुहले हेटौंडा–५ पिप्लेमा बुधबार (आज) बाट हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, मकवानपुर सेवा केन्द्र, माईग्रेन्ट कृषि मार्ट र रीटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड सञ्चालनमा ल्याएको हो । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्दै व्यवसायिक कृषिको प्रवद्धन गर्ने उदेश्यले मार्ट संचालनमा ल्याइएको संस्थाका अध्यक्ष सरोज पुडासैनीले बताउनुभयो । मार्टमा स्थानीय तथा रैथाने उत्पादनलाई विशेष प्राथमिक्ता दिने बताईएको छ ।