मकवानपुर– पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत ३ पुरुष र २ महिलाको मृत्यु भएको हो । सजमा मकवानपुरका तीनजना र जिल्ला बाहीरका दुइर्जना रहेका छन् ।
हेटौंडा अस्पतालको कोभिड वार्डका प्रमुख डा. सागर काफ्लेका अनुसार शुक्रबार थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–४ का ६६ वर्षीय पुरुष र हेटौंडा–४ का ४६ वर्षीय पुरुषको मृत्यु एको हो । यस्तै शनिबार बिहान हेटौंडा–५ की ७२ वर्षीया महिला र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ की ४२ वर्षीया महिलाको मृत्यु भएको डा. काफ्लेले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा हालसम्म कोरोना संक्रमित ७३ जनाको मृत्यु भइसकेको छ । अहिले हेटौंडा अस्पतालमा ४५ जना उपचाररत छन् ।
जिल्लामा संक्रमणमुक्त हुनेको संख्या वृद्धि
मकवानपुरमा पछिल्लो केही दिन देखि कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्यामा निरन्तर बृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२८ संक्रमित थपिदा २१० जना संक्रमणमुक्त भएका छन ।
विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २१० जना शनिबार संक्रमण मुक्त भएको कार्यलयले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ७ हजार ४३ पुगेको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १२८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ९ हजार २४७ पुगेको कार्यालयले जनाएको छ ।