पहिलो टी–ट्वान्टीमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाललाई जिम्बावे ‘ए’ ले ६ विकेटले हराएको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो ।
जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्ध शतकीय इनिङ खेले । यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेले । इनोसेन्ट कैयाले ४७ रन जोडे । नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल भुर्तेलले ४६ रन जोडे । रोहित पौडेलले ३९ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रनमा अविजित रहे ।
जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले १/१ विकेट लिए । जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधवार खेल्नेछ । टी–ट्वान्टीपछि नेपालले एक दिवसीय सिरिज खेल्नेछ ।











