मकवानपुर – नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले वर्तमान सरकार अझै पनि चुनाव बिथोल्ने बाहाना खोजरहेको बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा आईतबार हेटौंडामा आयोजित बृहत आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले ५ दलिय गठबन्धन बाध्यताले चुनावमा सरिक हुन लागेको बताउनुभयो ।

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन कुनै पनि हालतमा चुनाव गर्ने पक्षमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनले चुनाव भाड्न खोजेको छ । रोक्न खोज्छ । गठबन्धनले चुनाव हुन नदिन अनेक षड्यन्त्र खेलेको थियो । तर, यो सम्भव छैन ।” अहिलेको सरकार कमिसका खेलमा मात्र लागेको भन्दै संविधानको पालना गर्ने सरकार भएको भए फागुनमा नै स्थानीय तहको चुनाव हुने बताउनुभयो । उहाँले एमालेको दबाबले निर्वाचन आयोग पनि कानुनमा अडिएको भएर मात्र निर्वाचन हुन थालेको बताउनुभयो ।
उहाँले सरकारले देशको सम्पत्ति सिध्याउन खानका लागि १८ वटा मन्त्रालय निर्माण गरेको आरोप लगाउनु भयो । “अहिलेको सरकार खान जन्मेको, देशलाई कंगाल बनाउन जन्मेको हो । तिनीहरु सरकारमा आउने बित्तिकै १८ वटा मन्त्रालय जन्मियो । अहिले नखाए कहिले खाने भन्ने सोच वर्तमान सरकारमा छ ।” उहाँले भन्न्ुभयो । वर्तमान सरकारले २४ लाख भ्याक्सीन निलेको आरोप लगाउँदै उहाँले अर्वौका औजारहरु एक्सरे मेसिन अस्पताललाई नभएर कमिसनका लागि खरिद गर्न लागिएको बताउनुभयो । “अर्बौंको औषधि, सिटी स्क्यान, एक्स–रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।” उहाँले भन्नुभयो ।
उहाँले सत्तारुढ गठबन्धन विकास गर्न नभएर देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाउनुभयो । उहाँले काँग्रेससंग देश बनाउने कुनै निति नभएको भन्दै उहाँले एमालेलाई गाली गरेर समय खर्चिने बताउनुभयो । स्थानीय निकायको निर्वाचनको लडाइ नेपाल जोगाउने चुनाव भएको स्पष्ट पार्नुभयो । गठबन्धन एमालेसँग त्रसित, आतकिंत रहेको भन्दै उहाँले मिलेर पनि एमालेलाई जित्न नसक्ने उल्लेख गर्नुभयो । गठबन्धनलाइ राष्टघातीको संज्ञा दिँदै उहाँले देश विरोधी सबै आएपनि नेकपा एमालेले जित्ने दाबी गर्नुभयो ।
वर्तमान अवस्था, सुविधा सम्पन्न समाज र आधुनिक समाज निमार्ण हुनुमा श्रमीकहरुको बलिदान असाधारण रहेको उहाँले बताउनुभयो । श्रमीकहरुको हक हितको लागि श्रमीक आन्दोलन वर्गीय आन्दोलन भएको भन्दै उहाँले श्रमीक आन्दोलनले मात्र परिवर्तन गर्न नसक्ने धारणा राख्नुभयो । श्रमीकहरुको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी एमाले मात्रै भएको उहाँले जिकिर गर्नुभयो । उहाँले नेपाली काँगे्रसले भरतपुरमा कुन चिन्हमा भोट माग्छ भनेर चिन्ता व्यक्त गर्नुभयो । बागमति प्रदेशमा एमालेको नेतृत्व हँुदा ४ हजार किलोमिटरभन्दा बढी सडक बनेको जानकारी गराउँदै उहाँले एमाले भएको ठाउमा मात्र विकास हुने स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेले जनताको भोट र जनताको आर्शिवादले चुनाव जित्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेले कुनै पनि हालतमा देशव्यापी रुपमा जित्ने र पहिलो शक्तिको रुपमा स्थापित हुने बताउनुभयो । गठबन्धन कुनै पार्टी नभएको दाबी गर्दै उहाँले सरकार बनाउने हैसियत अरु पार्टीमा नभएको धारणा राख्नुभयो । कार्यक्रममा निर्वाचनको लागि तयार गरिएको पुस्तक विमोचन गरिएको थियो, भने विभिन्न पार्टी परित्याग गरि करीब सात सय जना एमालेमा प्रवेश गरेको थिए । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रिय सदस्य रामेश्वर राना लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।