हेटौंडाः बागमती प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले बिरोध जनाएपछि प्रदेश सभा स्थगित भएको छ । बागमती प्रदेशको बजेटमा देखिएको त्रुटि सच्याउन ध्यानाकर्षण गराउँदा समेत प्रदेश सरकारले वास्ता नगरेको भन्दै प्रमुख प्रतिपक्ष दलका सदस्यहरुले प्रदेश सभामा बिरोध गरेका हुन् ।
बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेललाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुरोध गरेपश्चात् प्रमुख प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभा स्थगितको माग गर्दै बिरोध जनाएपछि प्रदेश सभा सदस्य दीपक निरौलालाई बोल्ने समय दिईएको थियो । प्रमुख प्रतिपक्ष दलले सरकार पक्षको राजनीतिक दलका भातृ संगठनलाई बजेट छुट्याएकोमा आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै प्रदेश सभा सदस्य दीपक निरौलाले प्रदेश सरकारले चुनाव लक्षीत गरेर साना र टुक्रे योजना ल्याउने काम गरेको आरोप लगाउनु भएको छ ।
प्रदेश सरकारको बजेटले करको विषय, मूल्यवृद्धि, गौरबका योजनाहरु, बहुवर्षीय योजना र क्रमागत योजनाहरुको निरन्तरता जस्ता विषयलाई नसमेटेको आरोप लगाईएको छ । उहाँले प्रदेश सरकारले १३ वटा जिल्लालाई समानुपातिक रुपमा बजेट बिभाजन नगरेको औल्याउनुभयो । उहाँले प्रदेश सरकारको बजेट मुल्य र मान्यताको आधारमा नभएको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीको गृह जिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा प्रमुख प्रतिपक्ष दलले आपत्ति जनाएको छ ।
सरकारले सिमेन्ट उद्योगबाट उठ्ने गरेको राजश्व गुमाउन गईरहेको भन्दै प्रदेश सभा सदस्य निरौलाले समानुपातिक रुपमा विनियोजन गर्नु पर्ने बजेटमा कमी आईरहेको बताउनुभयो । नीतिगत रुपमा गरिने भ्रष्टचार गम्भिर प्रकृतिको भष्टचार रहेको भन्दै हटाउन माग गर्नुभएको छ । यस्तै, अबैध रुपमा राज्यको प्राकृतिक स्रोत साधनको दोहन गर्नेलाई कारबाही गर्नुपर्ने भएपनि सरकारले प्रोत्साहन गर्ने गरी ९० प्रतिशत छुट गरेर अर्को गम्भिर त्रुटि गरेको आरोप लगाउनुभएको छ ।
विकास र महंगीलाई नियन्त्रण गर्ने तर्फ बजेट नरहेको भन्दै असमानुपातिक रुपमा गरिएको बजेट बाँडफाँटलाई हटाउन आग्रह गर्नुभयो । सरकारको कोषबाट भातृसंगठनको नाममा बजेट विनियोजन गरी भातृसंगठन चलाउने काम भएको आरोप लगाउनुभएको छ । यस्ता विषयहरु फिर्ता नगरेसम्म प्रमुख प्रतिपक्ष दलले प्रदेश सभा अवरोध गर्ने चेतावनी दिएको छ । प्रदेश सभा भोली सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।