नेपालको प्रतिव्यक्ति आय स्थिर देखिएको छ । आर्थिक मन्दीको कारण आर्थिक वृद्धिदरमा सङ्कुचन हुँदा चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८२ हजार ६८३ नेपाली रुपैयाँ हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा पनि त्यतिमै सीमित रहने अनुमान रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उल्लेख छ ।
यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ हजार ४१० अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८४ हजार १४० नेपाली रुपैयाँ बराबर हो । विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्य वृद्धिको असर हाम्रो नेपालको अर्थतन्त्रमा देखिएको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।