मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विकास निर्माणको काम रोक्न नहुने बताउनुभएको छ । हेटौंडा–९ स्थित बाबा बैद्यनाथ धाम मन्दिरको कम्पाउन्डवालको शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर विकास निर्माणको काम अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।
बिश्वभर फैलिएको कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच पनि उत्पादन र निर्माणकार्य रोक्न नहुने बताउनुभएको छ । उत्पादन र निर्माण प्रभावित बन्दा सर्वसाधारणको दैनिकीका साथै मुलुकको अर्थतन्त्रमा असर पुग्ने देखिएकाले यसलाई सँगसँगै अघि बढाउनु पर्ने तर स्वास्थ्य सम्बन्धी सावधानी भने अपनाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तरगतको रकमबाट उक्त मन्दिरको कम्पाउन्डवाल तथा सत्तल निर्माण गर्न लागिएको हो । मन्दिरको कम्पाउन्डवाल निर्माणका लागि प्रदेश पुर्वाधार विकास कार्यक्रमबाट १२ लाख रुपैयाँ प्रदान गरिएको छ । सो अवसरमा प्रमुख खुलालले छिटो र राम्रो काम गर्न समेत आग्रह गर्नुभयो । शिलान्यास कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिसस सदस्य सीता अधिकारी, ९ नम्बर वडा सदस्यहरु सुकराम केसी, लक्ष्मी नेपालीलगायतको सहभागिता थियो ।