युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई सूचित गरेको छ । कोषले सार्वजनिक सूचना निकालेर कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।
कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरण अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् । त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् । सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।
थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ ।