मकवानपुर – मकवानपुरका १० वटै स्थानीय तहले आज शुक्रबार आआफ्नो गाउँ÷नगरसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट पेश गर्दैछन् । स्थानीय तहहरुले असार १० गतेभित्र नीति कार्यक्रम र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आज जिल्लाका १० वटै पालिकाले आआफ्नो गाउँ÷नगर सभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । स्थानीय तहले नीति कार्यक्रम र बजेटसंगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । जस अनुसार आज मकवानपुरका १० मध्ये ६ वटा पालिकाले नीति कार्यक्रम र बजेट एकै साथ सार्वजनीक गर्ने भएका छन् । भने ४ वटा पालिकाले नीति कार्यक्रम मात्र सभामा प्रस्तुत गर्ने जनाएका छन् । केहि आन्तरिक छलफल बाँकी रहेकाले ४ वटा पालिकाले आज नीति कार्यक्रम मात्र प्रस्तुत गरेर आगामी २५ गते भित्र बजेट पेश गरेर पारित गर्ने जनाएका छन् ।
आज हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिकाले नीति कार्यक्रम र बजेट सार्बजनीक गर्दैछन् । भने, मनहरी, राक्सिराङ, कैलाश र ईन्द्रसरोवर गाउँपालिेले आज नीति तथा कार्यक्रम मात्र सार्वजनीक गर्ने जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले आजको नगरसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रसंगै करीब पौने ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनीक गर्दैछ । यस्तै जिल्लाको थाहा नगरपालिकाले नीति कार्यक्रमसँगै करीब एक अर्ब ८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको जनाईएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रमसँगै ६७ करोड ४४ लाख १२ हजार, भीमफेदी गाउँपालिकाले नीति तथा कार्यक्रम र करीब ७० करोड, बागमती गाउँपालिकाले नीति तथा कार्यक्रम र ३६ करोड र बकैया गाउँपालिकाले आज नीति तथा कार्यक्रमसँगै ७५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनीक गर्ने तयारी गरेको जनाएका छन् ।
त्यस्तै जिल्लाको कैलाश गाउँपालिकाले आजको गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मात्र पेश गर्ने जनाएको छ । गाउँपालिकाले ५१ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारीसहित नीति तथा कार्यक्रम सभामा पेश गर्ने तयारी गरेको जनाएको छ । यस्तै ईन्द्रसरोवर गाउँपालिकाले आजको गाउँसभामा नीति तथा कार्यक्रम मात्र पेश गर्ने आगामी आर्थिक बर्षका लागि करीब ४८ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।
यता जिल्लाको मनहरी गाउँपालिकाले आज नीति तथा कार्यक्रम र आर्थिक विधेयक मात्र ल्याउने तयारी गरेको छ । असार २५ गते भित्र बैठक बसेर बजेट ल्याउने मनहरी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको छ । यस्तै, राक्सीराङ गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्र पेश गर्दैछ । आगामी आर्थिक वर्षको बजेट आगामी असार २५ गते भित्र सार्वजनिक गर्ने गाउँपालिकाले जनाएको छ ।