हेटौंडा – नेकपा एमाले बाग्मती प्रदेश कमिटीका सदस्य बलराम बलले बामपन्थी धारको नेतृत्व एमालेबाट मात्र सम्भव रहेको बताउनुभएको छ । नेकपा एमाले बागमती गाउँपालिका कमिटीको आज भएको बैठकमा बोल्दै नेता बलले राष्ट्रिय राजनीतिमा बामपन्थी धारको नेतृत्व नेकपा एमाले र बुर्जुवा धारको नेतृत्व नेपाली कांग्रेस गर्ने बताउनुभयो ।
नेता बलले अब कुनै समाजबादी केन्द्र आवश्यक नरहेको भन्दै प्रगतिशिल सोच भएका राष्ट्रबादी, जनमूखी पक्षधर एमाले तिर आउने र राष्ट्रघाती र जनविरोधीहरूको नेतृत्व गर्ने कांग्रेसले दावि गर्नुभयो । उहाँले गठबन्धन सरकार आएपछि मंहगी अध्याधिक बढेको, भ्रष्टाचार चरम भएको, राष्ट्रघाती र जनघाति काम भएकोले नेपाली जनताको विकल्प नेकपा एमाले नै भएको पुष्टि भएको बताउनु भयो ।
बैठकले पार्टी जिल्लाद्वारा सञ्चालित ४५ दिने संगठन सुदृढीकरण तथा शुद्विकरण अभियान अन्तरगत साउन ३० गते पालिकाका स्तरीय प्रशिक्षण गर्ने, पालिकाको ९ वटै वडामा अभियान सञ्चालन गर्न अभियान टोली निर्माण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी सदस्य नवीकरण, नयाँ पार्टी सदस्य वितरण, पार्टी प्रवेशलाई व्यवस्थित गर्ने, पार्टीको टोल कमिटीसम्म, जनसंगठनको वडा कमिटीसम्म व्यवस्थित बनाउने निर्णय गरेको एमाले जिल्ला सचिव नवीन सिग्देलले बताउनु भयो ।
एमाले बागमती गाउँपालिका कमिटीका अध्यक्ष चन्द्र राईको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटीका सदस्यहरू अणराज जर्गामगर, देवराज रिमाल, दिलबहादुर घिसिङ्ग, जयबहादुर वाईवा, जिल्ला सचिवालय सदस्यहरू खेमजर्गा मगर, शर्मिला विक, जिल्ला सदस्य सरिता विकलगायतको उपस्थिति रहेको एमाले बागमती गाउँपालिका कमिटीका सचिव मनोज नेगीले बताउनु भयो ।