मकवानपुर – बागमती प्रदेश सरकार अन्तरगतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकको शल्यक्रिया भएको छ । टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अबस्थाका हेटौँडा–१५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो ।
हेटौँडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्य प्रसाद साह, एनेस्थेटिस्ट डाक्टर ईश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । साधन श्रोतको अभावकाबीच पनि गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल भएको हो ।
थिङको शल्यक्रिया अनुभवबारे डाक्टर साहले भन्नुभयो– “उहाँ बेहोसी अवस्थामा हेटौँडा अस्पताल आउनुभएको थियो, टाउकोमा रगत जमेको कारण हामीले यहाँ उपचार सम्वभ नहुने ठानेर अन्य स्थानमा उपचारको लागि भनेको थियौँ, उहाँहरुले अन्यत्र पनि प्रयास गर्नुभएको रहेछ, तर निकै कमजोर आर्थिक अवस्थाको कारण उपचार गर्न नसकेपछि उहाँहरुले बिरामीलाई पुनः घरमानै लैजाने सोच गर्नुभएको रहेछ ।”
“हेटौँडा अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्रीको अभाव र प्राईभेट तथा काठमाण्डौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबिच आफुहरुले हेर्टौँडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल भयौं, मैले पनि आफुसँग भएका सामग्रीहरुको प्रयोग गर्ने र विरामीलाई पुनः हेटौँडा अस्पताल बोलाएर अप्रेसन गर्ने सोच बनायौं । फलस्वरुप हामी सबैको प्रयासमा उहाँको अप्रेसन गर्न सफल बनेका छौँ ।” डाक्टर साहले भन्नुभयो । टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेको र टिमले निकै मेहनत गरेर काम गर्दा एकजना कमजोर आर्थिक अवस्था भएको बिरामीको ज्यान जोगिएको छ” उहाँले भन्नुभयो । हाल विरामीको अवस्था सामान्य रहेको भन्दै उहाँले आज भोलीमा डिस्चार्जको तयारी गरेको बताउनुभयो । बागमती प्रदेश सरकार अन्तरगतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सञ्चालनमा आएपछि हेटौंडा अस्पतालको सेवामा निकै सुधार हुँदै गएको छ ।