रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।
पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले भने, ‘कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि एमालेमा प्रवेश गर्न लागेको हुँ ।’ ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन तय भएको स्रोतले बतायो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ । गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका छन् । साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए ।