जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका नवनिर्वाचित प्रमुख ललितबहादुर घलानलाई निवर्तमान प्रमुख रघुनाथ खुलालले जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट निर्वाचित घलानलाई बिहीबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराएर जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले समन्वय प्रमुख घलानलाई सपथ गराउनुभयो भने समन्वय प्रमुखले उपप्रमुख र सदस्यहरुलाई सपथ गराउनुभयो । बिहीबार सम्पन्न निर्वाचनबाट जिसस उपप्रमुखमा सानुकाजी लुइटेल विजयी हुनुभएको छ । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित हुनुभएको छ । दलित सदस्यमा सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित हुनुभएको छ । खुलातर्फ ३ जना सदस्यमा वीरेन्द्र कुमार लामा, खड्क बहादुर पुलामी र सुवर्ण गोपाली विजयी हुनुभएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, प्रजिअ भरतमणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।