मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचनबाट जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै विजयी हुनुभएको हो ।
कुल २० मत मध्ये घलान १७ मतसहित प्रमुखमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका बुद्धिराम डिम्डुङले ३ मत पाउनुभयो । घलानले हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजिनामा दिएर जिसस प्रमुखमा उम्मेदवारी दिनुभएको थियो । यस्तै जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल विजयी हुनुभएको छ । उहाँको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित हुनुभएको छ । उहाँहरुले १७÷१७ मत प्राप्त गर्नुभयो । भने, नेकपा एमालेबाट बिना कुमारी थिङ लामाले (३ मत) पाउनुभयो । यस्तै दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको थियो । उहाँ पनि निर्विरोध निर्वाचित हुनुभएको हो ।
त्यस्तै खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीले क्रमश १७÷१७ मत प्राप्त गरेर विजयी हुँदा नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा १६ मत ल्याएर बिजयी हुनुभएको छ । नेकपा एमालेका तोयानाथ तिमल्सिना (३ मत) प्राप्त गर्नुभयो । नवनिर्वाचित प्रमुख घलानलाई मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । भने, उपप्रमुखलगायत पदाधिकारीलाई प्रमुख घलानले पद तथा गाेपनियताकाे सपथ गराउनुभएकाे थियाे । उहँँहरूले आजै पदभार समेत ग्रहण गर्नुभएकाे छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, निवर्तमान जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडाका मेयर मिनाकुमारी लामा, प्रजिअ भरतमणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।