फाइल तस्विर

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेशका २५ वटा सामुदायिक विद्यालयलाई बस सेवा संचालनका लागि अनुदान दिने भएको छ । प्रदेश सरकारले विद्यालय मर्ज भएका, ढाटाबाट विद्याथी आउनुपर्ने बाध्यता भएका, सडक सञ्जालले जोडिएका प्रदेशका १३ जिल्लाका २५ विद्यालयलाई छनौट गरेर वस खरिदका लागि अनुदान दिन लागिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि, सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, विद्यार्थी ड्रपआउट कम गर्ने तथा टाढाबाट सामुदायिक विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीलाई सहजता प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरेको हो । प्रदेशका रसुवाको एउटा र अन्य १२ जिल्लाका २४ सामुदायिक विद्यालय विद्यालय वस कार्यक्रमका लागि अनुदान रकम दिने भएको छ । बस खरिदका लागि विद्यालय वस कार्यक्रममा छनौट भएका २५ वटा विद्यालयसंग त्रिपक्षीय संझौता समेत गरेको छ । प्रदेश सरकारले कार्यक्रम अन्तरगत मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँका दरले रमक हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारले काठमाण्डौको गोकर्ण मावि, दोलखाको हनुमन्तेश्वर मावि र क्षत्रवती माबि, धादिङको वागेश्वरी माबि, धादिङ्गकै गल्छीको सोही नाम गरेको बागेश्वरी मावि, नुवाकोटको महादेव मावि, भक्तपुरको सरस्वती मावि, मकवानपुरको जनकल्याण मावि, मकवानपुरको हेटौंडाको वंशगोपाल मावि, रामेछापको मन्थली माविलाई छनौटपछी संझौता गरिएकोे छ । त्यस्तै तामाकोसीको जनजागृति मावि, ललितपुरको सरस्वती मावि, सिन्धुपाल्चोकको तेर्से मावि, सिंधुलीको प्रगतिशिल मावि, काठमाण्डौको कान्तिभैरव मावि, काभ्रेपलान्चोकको कुशादेवि मावि र प्रभा मावि, चितवनको भण्डारा मावि र हिमालय दण्डपाणि न्यौपान मावि, नुवाकोटको चण्डेश्वरी मावि, भक्तपुरको बागेश्वरी मावि, रसुवाको कालिका हिमालय मावि, ललितपुरको विश्श्रमित्र गणेश मावि, सिन्धुपाल्चोकको सेतीदेवि पन्चकन्या मावि, सिन्धुलीको जनजागृति माबिलाई वस खरिदका लागि अनुदानका लागि संझौता गरेको छ । बागमती प्रदेश सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागि अघिल्लो वर्षबाट संचालन गरेको “एक विद्यालय एक नर्स” कार्यक्रम पनि प्रभावकारी देखिएको छ ।