हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले औद्योगिक वातावरण निमार्णका लागि उद्योगि र मजदुर बिच सुमधुर सम्बन्ध कायम हुनुपर्ने बताउनुभएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा उद्योगी व्यवसायि, ट्रेड युनियन र सरोकारवाला बीच भएको अन्तरकृया कार्यक्रममा उहाँले औद्योगिक वातावरण निर्माणकालागि मजदुर र मालिक मिल्नुको बिकल्प नभएको बताउनुभएको छ । मकवानपुरमा औद्योगीक क्षेत्रमा मजदुर र उद्योगी बिचको समस्या समाधानको लागि अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उद्योगि तथा मजदुरहरुले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मजदुरहरुले उद्योगमा काम गर्ने मजदुरलाई नियुक्ति पत्रको व्यवस्था हुनु पर्ने, मजदुरको पदको वर्गिकरण हुनुपर्ने, न्युनतम बेतन लागु हुनु पर्ने, सिबिएलाई व्यवस्थित बनाउँदै सो अन्तरगत मजदुरले पाउने सेवा सुविधा पाउनु पर्ने, सामाजिक सुरक्षा कोष लागु गर्नुपर्नेलगायतका माग राखेका थिए ।

त्यस्तै उद्योगिहरुले भने राज्यले बनाउने कानुनले गर्दा मजदुर र मालिक बिच असहमति भएको बताएका थिए । उनिहरुले नाफाको आधारमा बोनस दिएको अवस्थामा सिबिए लागु गर्न नसकिने, भौगोलिक परिवेश र राज्यको अवस्थाका आधारमा कानुन नबनाउँदा उद्योग बन्द गर्ने अवस्था आएको बताएका छन । उनिहरुले राज्यले तोके अनुसार तलब, बोनस पनि दिने अनि सिबिए पनि लागु गर्न नसकिने बताएका छन् । सिबिए कै कारण अहिले मजदुर र मालिक सामाजिक सुरक्षा कोषको संचालनमा अन्यौलता आएको बताएका छन् ।
उद्योगि र मजदुरका समस्याका बोमा भएको छलफलबाट उद्योगि र मजदुर बिच सुमधुर सम्बन्ध कायम राख्न ट्रेड युनियन र उद्योग संघ बिच समय–समयमा छलफलको आयोजना गर्ने, सिवीए सम्बन्धी समस्या समाधानका लागि विकल्पहरु पहिचान गरेर छलफलबाट समाधान गर्ने, उद्योगले मजदुरलाई दिने तलब सुविधा राज्यले निर्धारण गरे बमोजिम प्रदान गर्ने वातावरण तयार पार्न उद्योग संघले पहल कदमी गर्ने, तथा मजदुरले पनि सोहि अनुसारको उद्योग प्रतिको आफ्नो कतव्र्य निर्वाह गर्ने र उद्योग संचालन गर्न तथा औद्योगिक वातावरण निमार्णका लागि उद्योगि र मजदुर तथा अन्य सम्पुर्ण सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा भएको छलपल कार्यक्रममा उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, ३ नम्बर प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उद्योग महाशाखा प्रमुख भगवान प्रसाद गुप्ता, उद्योग परिसंघ प्रदेश नम्बर ३ का अध्यक्ष ऋषि राम घिमिरे, उद्योगसंघ मकवानपुरका अध्यक्ष नवराज अर्याललगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।