हेटौंडा– ३ नम्बर प्रदेश सभाको सोमबार बसेको बैठकमा डेंगु रोग सम्बन्धी विषयले चर्चा पाएको छ । प्रदेश ३ मा डेंगुको प्रकोप बढेको भन्दै सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालको प्रस्तावमा नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले र नेकपाकी सांसद कञ्चन खनालको समर्थनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव टेबुल भएको हो ।
प्रस्तावमा माथि भएको छलफलमा २० जना प्रदेश सभा सदस्यहरुले धारणा राख्नुभएको थियो । सांसदहरुले डेंगु रोग नियन्त्रण गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सभा सदस्यहरुले सबैले आ–आफ्नो तहबाट डेंगु नियन्त्रण गर्न सर्वसाधरणलाई आग्रह पनि गर्नुभएको छ ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा उठेको विषयको जवाफ दिँदै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश ३ मा आईतबार साँझसम्म २ हजार १० जनालाई डेंगुको संक्रमण भएको जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश ३ को सबैभन्दा धेरै चितवनामा १ हजार ३६ जना, मकवानपुरमा ६ सय २४, काठमाडौंमा २ सय ५४, ललितपुरमा ३२ जना, काभ्रेमा ४ जना, भक्तपुरमा ३३ जना, धादिङमा १८ जना सिन्धुपाल्चोकमा २ जना, रामेछापमा २ जना, दोलखामा २ जना, सिन्धुली र नुवाकोटमा १ जनालाई डेंगु रोगको संक्रमण देखिएको मन्त्री दुलालले बताउनुभयो । प्रदेश ३ को रसुवामा भने हाल सम्म डेंगु नदेखिएको मन्त्री दुलालले बताउनुभयो । सांसदहरुको प्रश्नको जवाफ दिंदै उहाँले प्रदेश स्तरकै सक्रियतामा डेंगु नियन्त्रणको प्रयास भइरहेको बताउनुभएको छ ।
यसै विच सोमबारको प्रदेश सभाको वैठकमा प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर वानियाँले विषेश समयमा बोल्दै डेंगु नियन्त्रणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । वैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले “प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक” को समितिको निर्णयको प्रतिवेदन पनि पेश गनुभएको छ । त्यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधीवक्ताको आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पनि संसदमा पेश गर्नुभएको छ । प्रदेश सभाको अर्को वैठक मंगलबार विहान ११ बजे बस्ने छ ।