मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कै कारण ४ वर्ष बित्दा पनि निजि आवास पुनर्निर्माणको काम सन्तोषजनक हुन नसकेको बताउनुभएको छ । बुधबार हेटौंडामा भएको निजी आवास पुनर्निर्माणलाई समयमै सम्पन्न गर्न प्रभावकारी अनुगमन टुल बनाउने सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षण कार्यशाला गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले प्राधिकरणको काम गर्ने तरीकामा नै समस्या रहेको बताउनुभएको छ । उहाँले प्राधिकरणले देशको अवस्था र परिवेश अनुसार समयमै काम सम्पन्न गर्ने गरि तदारुक्ता देखाउन नसक्दा समयमै निजि आवासको काम सम्पन्न हुन नसक्ने जस्तो देखिएको बताउनुभयो । प्राधिकरणबाट खटिएका प्राविधिकहरु निरन्तर परिर्वतन हुनु, प्राविधिकहरुले सर्वेक्षणमा महिनौ समय लगाउने समस्या, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सुनेको सुनेई गर्ने, जिल्लामा भएका अप्ठ्याराहरुलाई ध्यान नदिने जस्ता कारणले निजि आवास पुनर्निर्माणले गति लिन नसकेको बताउनुभयो ।

प्रमुख खुलालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ४ वर्ष पछि रेक्ट्रोफिटिङको डिजाईन प्राप्त हुनु, प्राप्त डिजाईन पनि स्पष्ट नहुनु, आम नागरिकलाई सोको बारेमा बुझाउन नसक्दा थप समस्या सृजना भएको बताउनुभएको छ । र्काक्रममा पुन निर्माण प्राधिकरणका उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले जिल्लामा निजी घर निर्माण गर्ने, पहिलो, दोस्रो र तेस्रो किस्ता लिनेको संख्या निकै न्युन रहेको बताउनुभएको छ । जिल्लामा अझैपनि पुन निर्माण सम्बन्धी संझौता गर्न बाँकी, पुन सर्वेक्षण, लाभग्राहीमा परेकाहरुले संझौता नगर्ने, संझौता गरेकाहरुले पहिलो किस्ता लिएर पनि घर निर्माण नगर्ने जस्ता समस्याहरु रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भीमफेदी गाउँपालिकाका अधयक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलगायत विभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृतलगायतको सहभागिता रहेको थियो ।