मकवानपुर – बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आज अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुने छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज बागमती प्रदेशले बजेट सार्वजनिक गर्न लागेको हो ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा भन्दा करीब १२ प्रतिशत बढाएर बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ६४ अर्ब रुपैया बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ । “आउँदो आर्थिक वर्षमा करीब १२ प्रतिशत रकम बढाएर बजेट ल्याउने तयारी रहेको छ ।” – स्रोतले भन्यो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटसमेत जोडेर सघीय र प्रादेशिक चुनावलाई लक्षित गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको स्रोतले बताएको छ । “बजेट केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्दै चुनाव लक्षीत बनाईएको छ ।” स्रोतले भन्यो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण, कृषि, साना उद्योग र रोजगारी सिर्जना, करको दायरा बढाउने र खर्च घटाउने, प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने, सघीयताको मर्म र भावनालाई समेटेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभयो । त्यस्तै बजेटमा भौतिक पूर्वाधार, पर्यटन लगायत क्षेत्रलाई बढी प्राथमिकता दिइएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चक्लाबन्दी खेतीलाई प्रोत्साहन, बाँझो जमिन बैंक स्थापना, कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र त्यस्तो वस्तु वा बाली किन्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्न प्रक्रिया थाल्ने, कृषकलाई परिचयपत्र वितरण गर्ने, परिचयपत्रका आधारमा सहुलियत दिने, प्रदेश भित्रका खरका छाना उन्मुलन र पर्यटन प्रबद्धनका लागि आव २०७९÷८० लाई घुमफिर वर्ष घोषणा गर्ने कुरा समेत बजेटमा समेटिएको उहाँले बताउनुभयो ।