हेटौंडा । बागमती प्रदेशको स्थानीय तहमा महिला जनप्रतिनिधिको उपस्थिति कमजोर बन्दै गएको छ । उपत्यकाबाहेक १० जिल्लाको ९८ स्थानीय तहमा ५८ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । तीमध्ये ६ पालिकामा प्रमुख र ५२ पालिकामा महिला उपप्रमुख निर्वाचित भएका छन् ।
२०७४ को स्थानीय निर्वाचनभन्दा यसपटक महिला प्रमुखको संख्या २ जना बढेको छ। तर, महिला उपप्रमुखको संख्या भने ३७ जना घटेको छ । २०७४ को निर्वाचनमा ४ जना प्रमुख र ८९ जना उपप्रमुख निर्वाचित भएका थिए । गठबन्धन दलबीच प्रमुख र उपप्रमुख भागबण्डा हुँदा दुवै पदमा पुरुष उम्मेदवार बढी भएकाले महिलाको संख्या घटेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।
संविधानले स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा कुनै एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । २०७८ चैत १२ गते निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न निर्देशन दिएको थियो । तर, चैत २९ गते आफ्नो निर्देशन सच्याउँदै आयोगले ‘मनोनयनमा प्राथमिकता दिनुपर्ने’ हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो । उक्त निर्णयपछि एक–एक पदमा मात्रै उम्मेदवारी दिएका गठबन्धन दलले पुरुषलाई प्राथमिकता दिएर उम्मेदवार बनाएका थिए ।
पुरुषले प्राथमिकता पाउँदा धेरै महिला आकांक्षीले स्थानीय निर्वाचनमा टिकट पाएनन् । बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामध्ये चितवनमा २ जना, सिन्धुलीमा २ जना, काभ्रे र मकवानपुरमा १/१ जना महिला पालिका प्रमुख निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेणु दाहाल र माडी नगरपालिकामा नेकपा एमालेकी ताराकुमारी काजी महतो मेयरमा निर्वाचित भएका छन् । दाहाल पुनः मेयरमा दोहरिएकी हुन् । मकवानपुरको हेटौंडा उपमहानगरमा नेकपा (एकीकृत समाजवादी) बाट मेयरमा मीना लामा, सिन्धुलीको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल र फिकल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार अध्यक्षमा निर्वाचित भएका छन् । लामा यसअघि हेटौंडाको उपमेयरमा एमालेबाट निर्वाचित भएकी थिइन् । काभ्रेको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी रेणुका चौलागाईं निर्वाचित भएकी छन् ।
प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये ११ जना उपप्रमुख महिला चयन भएका छन् । तीमध्ये ३ जना उपमेयर र ८ जना उपाध्यक्ष हुन् । नुवाकोट र रामेछापमा ८/८ जना, दोलखामा ७ जना, र सुवामा ४ जना उपप्रमुख निर्वाचित भएका छन् । धादिङ, काभ्रे, मकवानपुर र चितवनमा ३/३ र सिन्धुलीमा २ जना महिला उपप्रमुखमा निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्क छ । अन्नपूर्ण पोष्टबाट साभार ।