चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ  । 

स्थानीय निवार्चनको अन्तिम नतिजा अनुसार दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले  पराजित गर्नुभएको हो  । 

दाहालले ५२ हजार ३० मत प्राप्त गर्नुभएको छ भने सुबेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको थियो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४हजार ७२८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि दाहालले भरतपुर महानगरपालिकाको प्रमुख पदमा विजयी हुनु भएको थियो । उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ । अधिकारीले  एमालेसँगको तालमेलबाट उम्मेदवार बन्नु भएकी  राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ सय ९१ को फराकिलो मतान्तरले पराजित गर्नुभएको हो  । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्नुभएको छ भने गुरुङले ३० हजार ६१२ मत प्राप्त गर्नुभएको हो । 

 महानगरपालिकाको  २९ वटा वडाहरूमध्ये नेपाली काँग्रेसले १६ वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ ।  यस्तै नेकपा माओवादी केन्द्रले ३ वटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३  वटा वडा जित्न सफल भएको छ  । वडा नम्बर  २५ मा भने स्वतन्त्र उम्मेदवार छविलाल सापकोटा विजयी हुनु भएको छ ।