मकवानपुर – हेटौंडा उपमहानगरपालिकामा सत्ताधारी गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना लामाले पछिल्लो समय लगातार आफ्नो अग्रता कायम राखेकी छिन् ।
यद्यपि नेकपाबाट मेयरका उम्मेदवार अनन्त पौडेलले पनि पछिल्लो समय आफ्नो मतान्तर घटाउंदै ल्याएका छन् । हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो ।
हिजो राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले जम्मा २५० मतले पछाडि छ । यता लामा र राप्रपाबाट मेयरको उम्मेदवार दीपक बहादुर सिंह बिचको मतान्तर भने बढेको  छ । हिजो लामा र सिंह बिचको मतान्तर २ सय ९५ रहेकोमा आज पछिल्लो अपडेट अनुसार गठबन्धन ७ सय ७३ मतले अगाडि छ । हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४३ हजार ३ सय ७० मत गणना सकिएको छ । यस्तै पछिल्लो नतिजा अनुसार उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले १९ हजार ४५१ मत ल्याउँदा एमालेको उम्मेदवार सुमित्रा काफ्ले १३ हजार ८७४ मत पाएकी छिन् । उपमेयरमा राप्रपाकी इन्दीरा डल्लाकोटिले ३ हजार १५३ मत पाएकी छन् ।