मकवानपुर – आगामी बैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकामा १ सय १३ मतदान स्थल रहने भएको छ । बागमती प्रदेशको १ मात्र उपमहानगरपालिकामा २८ मतदान स्थलमा १ सय १३ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सख्याको आधारमा एउटा मतदान स्थलमा बढीमा ८ वटा सम्म मतदान केन्द्र रहेको छ ।
उपमहानगरपालिकामा कुल मतदाता १ लाख ४ हजार ४ सय ७३ जना रहेका छन । निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिम दिइसकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबारबाट निर्वाचनमा खटिने कर्मचारीहरुलाई नियुक्ति प्रदान गरेको छ । सोमबारसम्म जिल्लाका सबै मतदात केन्द्रमा खटिने कर्मचारीलाई नियुक्ति पत्र दिइ सकिने कार्यालयले जनाएको छ।
हेटौंडा नगरपालिका हुँदाको साबिक ११ वडा रहेकोमा साविक हर्नामाडी, हटिया, बसामाडी, चुरियामाई र पदमपोखरी गाउँ विकास समिति मिलाएर बनाईएको उपमहानगरपालिका १९ वडा रहेका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको नेकपा एमालेबाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले प्रत्यासी रहेका छन् । यता सत्ता गठबन्धन दलबाट प्रमुखमा मिना कुमारी लामा (नेकपा एस) र उप प्रमुखमा राजेश बानियाँ (नेपाली काङ्ग्रेस) रहेका छन् । यसैगरी राप्रपाबाट प्रमुखमा दिपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपानेले उम्मेदवारी दिएका छन । विस २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का हरि बहादुर महत र उपप्रमुखमा पनि एमालेकै मिना कुमारी लामा विजयी भएका थिए ।











