मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा जिल्लाका ४ वटा स्थानीय तहको अनुगमन गरिएको छ । मकवानपुर जिल्लाको उत्तरी भेगमा सञ्चालित भूकम्प पुनर्निर्माणका निजी आवास, भूकम्पपछि निर्माण भएका विद्यालय भवन, जिविकोपार्जनको कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालको नेतृत्वमा अनुगमन जिल्लाको कैलाश, भीमफेदी, इन्द्रसरोवर गाउ“पालिका र थाहा नगरपालिका भित्र सञ्चालिक विभिन्न परियोजनाहरुको प्राविधिकसहित अनुगमन गरिएको थियो । जिल्लाको कैलाश गाउँपालिकाबाट सुरु गरिएको अनुगमन भीमफेदी गाउँपालिकामा आएर सम्पन्न भएको थियो । कैलाश गाउँपालिका–१० मा गरिएको अनुगमनमा पुर्ननिर्माणको कामलाई द्रुतगतिमा अगाडी बढाउन उहाँले निर्देशन दिनुभएको छ । कैलाश–१० मा भएको निजी भवनहरुको अनुगमनमा चालु वर्षमा काम सक्नेगरी कार्य गर्न जनप्रतिनिधी र प्राविधिक टोलीलाई प्रमुख खुलालले निर्देशन दिनुभएको हो ।

कैलाश–१० मा सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) को सहयोगमा ब्लक उत्पादन गर्ने मेशिनबाट दैनिक ३ सय ब्लक उत्पादन गरी आवासहरु निर्माण गर्ने प्रक्रिया अगाडि बढेको र ३ लाख ५० हजारमा घर निर्माण सम्पन्न गर्न सकिने सिसिडिएनका कार्यकारी प्रमुख महेन्द्र जर्गा मगरले बताउनुभयो ।

३ लाख नेपाल सरकारले ३ किस्ता गरी दिन्छ भने त्यसमा ५० हजार थप गरी पुनर्निर्माणलाई सहयोग गरेको सिसिडिएनका प्रमुख मगरले बताउनुभयो । हालसम्म कैलाशमा २५ वटा भवनको खाका तयार भएको छ । कैलाश गाउ“पालिका वडा नम्बर १० मा भने निर्माण सामग्री ढुवानी गर्न सडक बाटोमा समस्या आएको र निर्माण कार्य ढिलाभएको वडाअध्यक्ष मणिकलाल मोक्तानले जानकारी गराउनुभयो । समयमै दोस्रो किस्ता लिने गरी कार्य गर्न अनुगमनमा लिखित र मौखिक सुझाव दिइएको भूकम्प पुनर्निर्माण (शिक्षा) प्रमुख बद्रिबहादुर पाठकले बताउनुभयो ।
थाहामा पानीको समस्या हल गर्छुः मेयर विष्ट

अनुगमनका क्रममा थाहा नगरपालिकामा मेयर लबशेर विष्टले आफ्नो कार्यकालमा नगरभित्र पानीको समस्या हटाउने बताउनुभएको छ । सोहि अनुसार विभिन्न गैसस, दातृ निकायसँग स्थानीय सरकारको सहभागितामा विकास निर्माणसँगै खानेपानीलाई पनि पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । मेयर विष्टले खानेपानी लिन २÷४ घण्टा हिँड्नुपर्ने बाध्यतालाई हटाउ“दै १ घर १ धारा नाराका साथ अगाडि बढेको बताउनुभयो । उहाँले थाहा नगरमा सञ्चालित ३ वटै खानेपानीका परियोजनाहरु सम्पन्न भएलगत्तै खानेपानी बोर्ड गठन गर्ने योजना रहेको पनि बताउनुभयो ।खानेपानीको विकास र संचालन गर्न अहिलेदेखि नै पहल सुरु भएको भन्दै थाहा नगरले दिगो विकास लक्ष्यसँगै नगरबासीको आवश्यकतालाई पनि ध्यान दिएको बताउनुभयो । थाहा नगरमा ३ वटा बृहत खानेपानी आयोजनाहरु निर्माण भैरहेका छन् । खानेपानीको समस्या समाधान गर्न नगरपालिका, सिसिडिएन, केयर नेपाल, चोइस नेपाल तथा अन्य दातृसंस्थाहरु माफर्त साझा योजना बनाई संयुक्त रुपमा अगाडि बढेको थाहा नगरका मेयर लबशेर विष्टले जानकारी दिनुभयो । थाहा नगर–७ चिसापानीमा सञ्चालित परियोजना मजुवा लिफ्टिङ खानेपानी निर्माण भैरहेको छ । १ लाख लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण आयोजनाको अनुगमनमा योजना सम्पन्न गर्न अझै रकम नपुग्ने समस्य देखिएको छ । आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको र अब छिट्टै उद्घाटन गर्ने योजना रहेको थाहा–७ का वडाअध्यक्ष सनम सिं मोक्तानले बताउनुभयो । नेपाल सरकारको २ करोड २० लाख र चोइस नेपालको १ करोड ५० लाख लागतमा निर्माणाधिन आयोजना सम्पन्न गर्न पैसाको अभाव नहुने मेयर विष्टले प्रतिबद्धता बनाउनुभएको छ ।

यस्तै अनुगमनमा जिसस प्रमुख रघुनाथ खुलाले विकासका योजनामा समुदायलाई सहभागिता गराउने र समुदायले पनि योगदान गर्नुपर्ने बताउनुभयो । कार्यप्रगति विवरण राम्रो रहेको र आयोजनाको उद्घाटन मात्र नभएर त्यसको संचालन गर्न स्थानीय सरकारले अहिले देखिनै योजना बनाउनुपर्ने भन्दै जनप्रतिनिधरुलाई सुझाव दिनुभएको छ । सकारात्मक सोच लिई अगाडि बढेमा विकास निर्माण कार्यहरु पुरा हुने भन्दै जनश्रमदान गरी आयोजनामा प्राविधिक समस्या कुनै रहन नहुने बताउनुभयो । वडा नम्बर ७ मा भएको प्रगति समिक्षा कार्यक्रममा उपभोक्ता समिति, समुदाय तथा अन्य संघसंस्थाका प्रतिनिधीहरु साथै प्राविधिकहरुको पनि उपस्थिती रहेको थियो ।

अनुगमनमा थाहा–६ बज्रबाराहि बृहत खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको पाइएको छ । ६ नम्बर वडाअध्यक्ष शशिधर सुवेदीले २ करोड ७५ लाखमा निर्माण भैरहेको ट्यांकी अन्तिम चरणमा रहेको र ३ सय घरमा धारा जडान भएको जानकारी दिनुभयो । यता थाहा–१० बिशंखेलमा सञ्चालित सितापाईला बृहत खानेपानी आयोजना पनि अन्तिम चरणमा रहेको छ । प्राविधिक कारण केही ढिलाई भएपतापनि १ महिनाभित्रै सम्पन्न गर्ने योजना रहेको बताइएको छ । २ करोड ५६ लाखमा बन्दै गरेको खानेपानी ट्याङ्कीले ४ सय घरधुरीलाई खानेपानी पुग्ने अपेक्षा लिएको छ । अनुगमनमा प्रगति विवरणसँगै प्रमुख खुलालले प्राविधिक रुपमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो । टिकाउ पनि र दिगो हुने गरी कार्य गर्न सम्पूर्ण आयोजना निर्माण टिमलाई आग्रह गर्नुभयो । पारदर्शी रुपमा कार्य अगाडि बढाउन भन्दै जनप्रतिनिधी आएपछि विकासले गति लिएको पनि जानकारी गराउनुभयो ।

भीमफेदी गाउँपालिका धोर्सिङमा खाली अवस्थामा रहेको जग्गामा सिसिडिएन र गाउँपालिकाको संयुक्त लगानीमा तरकारी बिक्री केन्द्र संचालनमा आउने भएको छ । १३ लाखको लागतमा १६ वटा स्टल राख्ने गरी निर्माण कार्य संचालन भैरहेको छ । अबको १ महिना भित्रै बिक्री केन्द्र संचालनमा आउने सिसिडिएनका कार्यकारी प्रमुख महेन्द्र मगरले बताउनुभयो । भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको अघोरमा जिसस प्रमुख सहितको संयुक्त टोलीले अनुगमन गरेको छ । स्थानीय गरिब, दलित, महिला र स्वरोजगार बन्न सिसिडिएनले संचालन गरेको जिविकोपार्जनका कार्यक्रमअन्तर्गत तरकारी खेतीको अनुगमन गरिएको छ । अनुगमनमा सानकान्छी लामाले वर्षेनी ५ रोपनीमा आलु, बन्दा, मुला, गाजर र धनिया लगाई वार्षिक १ लाख आम्दानी गर्न सफल भएको पाइएको थियो । सिसिडिएनले जिविकोपार्जका लागि पशुपालन कार्य गरेतापनि तरकारी खेती धेरैमात्रामा प्रभावकारी बनेको सिसिडिएनका अघोरका इन्चार्ज शिव रुम्बाले बताउनुभयो । वर्षैभर ३÷४ पटक तरकारी बेच्ने गरेको र सबै हेटौंडा बजारमा विक्रिको लागी पठाइने उहाँले बताउनुभयो ।

अनुगमनमा कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि, थाहा नगरपालिका वडा नम्बर २ को घाटदेवी आधारभूत विद्यालय, दामनमा रहेको जनकल्याण मावि, फाखेल–७ मा रहेको कालीदेवी मावि लागयतको अनुगमन गरिएको छ । विद्यालयमा भूकम्पपछि पुनर्निमाण भई हस्तान्तरण भएका विद्यालयको अवस्थाको अनुगमन गरिएको थियो । अनुगमनमा विद्यालयले सुधार गर्नुपर्ने पक्षहरुमा जिसस प्रमुख खुलाले सुझाव दिनुभएको छ । अनुगमनमा कैलाशमा रहेको कालिका माविमा विज्ञान प्रयोगशाला र पुस्तकालयको समस्या रहेको पाइएको छ । त्यसलाई हल जिसस प्रमुखले आवश्यक पहल गर्ने बताउनुभयो । यता थाहा नगरका प्रमुख लवशेर विष्टले विद्यालयमा गुणस्तरी शिक्षा प्रदान गर्न सुझाव दिनुभएको छ ।

इन्द्रसरोवर र भीमफेदीमा पनि बृहत खानेपानी आयोजना
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका पनि खानेपानी ट्याङकी निर्माण कार्य ८० प्रतिशत सकिएको छ । शुक्रबार इन्द्रसरोबर गाउ“पालिका वडा नम्बर ५ चखेलमा अनुगमन गरिएको थियो । अनुगमनमा इन्द्रसरोवर गाउ“पालिका प्रमुख, उपप्रमुख स्थानीय समुदायहरुको सहभागिता रहेको थियो । चखेलमा २० हजार लिटरको र ५० हजार लिटरको २ वटा टयाङ्की निर्माण भएको छ । १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण भैरहेको आयोजनाले करिब ३ सय घरधुरीको खानेपानीको समस्या हल हुने ५ नम्बर वडाअध्यक्ष धनराज महर्जनले बताउनुभयो । स्थानीय स्तरबाट आएको समस्या खानेपानीमा आफु संवेदनशील भएको भन्दै पानीको समस्या हुन नदिने गाउ“पालिका प्रमुख जीवन लामाले भन्नुभयो । अनुगमनमा खानेपानीको परिक्षण गर्न बाँकी रहेको थियो । यता भीमफेदी गाउँपालिकामा निर्माण भैएको सबैभन्दा ठूलो आयोजना रहेको छ । १ लाख ५० हजार लिटर क्षमता भएको ट्याङकी निर्माण स“गै भीमफेदी गाउ“पालिकामा खानेपानीको समस्या नहुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
अनुगमन टोलीमा थाहा नगरका मेयर लबशेर विष्ट, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोवर गाउ“पालिका अध्यक्ष जीवन लामा, उपप्रमुख उमा लामा, भीमफेदी गाउ“पालिका प्रमुख हिदम लामा, भूकम्प पुनर्निर्माण जिल्ला कार्यान्वयन इकाई (शिक्षा) प्रमुख बद्रि बहादुर पाठक, भवन शाखा, सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) का अध्यक्ष बृर्ख बहादुर खड्का, कार्यकारी प्रमुख महेन्द्र जर्गा मगर, केयर नेपाल लगायतको संयुक्त टोलीले उत्तरी क्षेत्रको अनुगमन गरेको हो । सिसिडिएनले गरिब, दलित, विपन्न परिवारहरुलाई भूकम्प पुनर्निर्माण गर्न पहिलो किस्ता लिएर घर बनाउन नसक्नेहरुलाई ५० हजार थप गरिरहेको काम अनुगमनमा प्रभावकारी देखिएको थियो ।