मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मौजदात कोषबाट प्राप्त रकमको सहि सदुपयोग भएको बताउनुभएको छ । मौजदात कोषबाट प्राप्त बजेट मध्ये मकवानपुरको थाहा नगरपालिकालाई प्राप्त १ करोड ५० लाख रकमबाट निर्माणाधिन खानेपानी आयोजनाको अनुगमनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मौजदात कोषबाट प्राप्त बजेट तथा अन्य गैरसरकारी संघ संस्थाको समेत सहयोगमा करीब ५ करोड लागतमा थाहा नगरपालिकाले वडा नम्बर ७ चिसापानीमा मजुवा लिफ्टीङ खानेपानी निर्माण भैरहेको छ । बिहान पानी लिन जाँदा दिउसो सम्म आईपुग्ने खानेपानीको अत्यन्त समस्या रहेको उक्त क्षेत्रमा जिससको १ करोड ५० लाख, प्रदेश सरकारको ३० लाख, च्वाईस नेपाल नामक गैरसरकारी संस्थाको १ करोड ५० लाख, थाहा नगरपालिकाको २२ लाख तथा अन्य अपुग रकम अन्य गैरसरकारी संस्थाले बेहोर्ने गरि काम अगाडी बढेको छ । १÷१ लाख लिटर क्षमताको दुईवटा खानेपानी ट्याङकी निर्माण गरि डबल लिफ्टिीङ प्रविधिबाट आयोजना संचालन गरिएको छ । मझुवा खोलाबाट ८ सय मिटरमा र १ हजार मिटरमा दुईवटा ट्याङकी निर्माण गरेर आयोजना संचालन हुने भएको हो ।
आयोजनाले करीब ७ सय घरधुरीले खानेपानी उपभोग गर्न सक्ने बताईएको छ । हाल सम्म आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको र अब छिट्टै उद्घाटन गर्ने योजना रहेको थाहा–७ का वडाअध्यक्ष सनम सिं मोक्तानले बताउनुभयो । २२ किलो मिटर क्षेत्रमा पाईलाईन विच्छयाउने काम समेत सम्पन्न भईसकेको निर्माणाधिन आयोजना सम्पन्न गर्न पैसाको अभाव नहुने थाहा नगरपालिकाका मेयर लवशेर विष्टले प्रतिबद्धता जनाउनुभएको छ ।
अनुगमनका क्रमममा जिसस प्रमुख खुलाले विकासका योजनामा समुदायलाई सहभागिता गराउने र समुदायले पनि योगदान गर्नुपर्ने बताउनुभयो । कार्यप्रगति विवरण राम्रो रहेको र आयोजनाको उद्घाटन मात्र नभएर त्यसको संचालन गर्न स्थानीय सरकारले अहिले देखिनै योजना बनाउनुपर्ने भन्दै जनप्रतिनिधरुलाई सुझाव दिनुभएको छ । सकारात्मक सोच लिई अगाडि बढेमा विकास निर्माण कार्यहरु पुरा हुने भन्दै जनश्रमदान गरी आयोजनामा प्राविधिक समस्या कुनै रहन नहुने बताउनुभयो । सबैको सहकार्यमा समृद्धि हासिल हुने उहाँले बताउनुभएको छ । समृद्धिकालागि विकास हुनु पर्ने भन्दै उहाँले सधैं सरकार, गैरसरकारी संस्था वा अन्य कसैले विकास गर्छ भन्ने मानसिक्ता त्याग्नु पर्ने बताउनुभएको छ । प्रमुख खुलालले अरुले सहयोग गर्ने तर स्थानीयले उपयोग गर्ने हुनाले कुनै पनि आयोजना सम्पन्न गर्नु र त्यसबाट बढि भन्दा बढी उपयोगिता हासिल गर्न स्थाथानीय सक्रिय हुनु पर्ने बताउनुभयो ।
प्रमुख खुलालको नेतृत्वमा जिल्लाको कैलाश, भीमफेदी, इन्द्रसरोवर गाउ“पालिका र थाहा नगरपालिकाभित्र सञ्चालिक विभिन्न परियोजनाहरुको प्राविधिकसहित अनुगमन गरिएको थियो । जिल्लाको उत्तरी भेगमा सञ्चालित भूकम्प पुनर्निर्माणका निजी आवास, भूकम्पपछि निर्माण भएका विद्यालय भवन, जिविकोपार्जनलगायत कार्यक्रमहरुको संयुक्त अनुगमनका क्रममा उहाँले समृद्धि प्राप्तीकालागि सबैले आ–आफ्नो स्थानवाट लाग्नु पर्ने बताउनुभएको हो ।