मकवानपुर – नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजिनामा दिनु भएको छ । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि पोखरेलले कुनै पदमा नरहने गरी राजिनामा दिनु भएको हो ।
स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नु भएको हो । उहाँले मनहरी, राक्सिारङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।
मकवानपुर जिल्लामा कुशल संगठकको रुपमा परिचित पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको मेयर पदमा दावी समेत गर्नु भएको थियो । तर, पोखरेललाई पछाडी पार्दै नेकपा (एस) मकवानपुरकी उपाध्यक्ष मीना लामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल हुनु भएको थियो । उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गर्नु भएको छ । पोखरेल र डीसी नेकपा एमाले विभाजन पश्चात् नेकपा (एस) मा आबद्ध हुनु भएको थियो । उहाँहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने समेत बताउनु भएको छ ।