हेटौंडा – मकवानपुर – बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालाई प्रतिष्ठानबाट अलग गराउने निर्णय तत्काल फिर्ता लिन बागमती प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ । पौडेलले निर्णय तत्काल फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै निर्णय तत्काल फिर्ता नभए मकवानपुरवासीहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
राजनीतिक प्रतिशोध तथा व्यक्तिगत बदला भावबाट ग्रसित वर्तमान गठबन्धन प्रदेश सरकारले प्रदेशका गौरवका रुपमा रहेका विभिन्न योजनाहरु धमाधम रोक्ने काम गरिरहेकोमा उहाँले विरोध जनाउनुभयो । पछिल्लो समयमा मकवानपुरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ तत्कालीन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने तथा यहाँको स्वास्थ्य क्षेत्र विगतको जस्तै बेकाम बनाउन लागिएकोमा उहाँले आपत्ति जनाउनुभयो । अहिले सामान्य उपचारका लागि समेत भरतपुर जानुपर्ने बाध्यता सिर्जना गर्ने खेलमा प्रदेश सरकार लागेको उहाँको भनाई छ । उहाँले ५० शैयामा सिमिति रहेको हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तर गर्ने काम वर्तमान सरकारले रोकेको प्रति गम्भिर खेद प्रकट गर्नुभयो । यो कार्य राजनीतिक बेइमानी मात्र होईन, मकवानपुरे आमजनताप्रतिको गम्भिर र अक्षम्य अपराध रहेको उहाँले बताउनुभयो ।
अस्पताल भइकन पनि प्राथमिक उपचार केन्द्रको रुपमा सञ्चालन भइरहेको अस्पताललाई प्रतिष्ठानमार्फत विषेशज्ञ डाक्टर, अत्याधुनिक उपकरणहरुको सेवा बिस्तारलाई अगाडि बढाई आईसियु, एचडियु, अक्सिजन प्लान्ट, डायलसिस सेन्टर, सिटि स्क्यान, एमआरआई, भेन्टिलेटर लगायतका सेवाहरु विस्तार गरी काम भइरहेको थियो । ५० शैया, ३ सय शैया हुँदै हाल ५ सय शैयामा पुग्ने क्रममा रहेको र निर्माणाधीन भवन सम्पन्न पश्चात सेवा अझ बिस्तार हुने क्रममा रहेको थियो । यस परिवर्तनकारी र अति महत्वपूर्ण संस्थालाई पनि तहसनहस बनाउन वर्तमान सरकार र यसै जिल्लाको प्रतिनिधित्व गरेर प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने केही माननीयहरु लागेकोमा उहाँको बिरोध छ ।
उहाँले अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः रिफर अस्पतालनमा झार्न तथा यस प्रतिष्ठानमा सञ्चालन भइरहेका तीनवटा विषयका कक्षाहरु भरतपुरबाट सञ्चालन गर्न मकवानपुरको प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्री पनि स्वयम् लागेको प्रति घोर भत्र्सना गर्नुभयो । यस्ता नागरिक विरोधी क्रियाकलाप बन्द गर्न तथा नागरिकका पक्षमा अघिल्लो सरकारले सञ्चालन गरेका आयोजनाहरु कुनै पनि बहानामा अवरुद्ध वा तोडमोड नगर्न चेतावनी समेत दिनुभयो । यदी सरकारले यस्ता जनविरोधी काम कारबाहीलाई निरन्तरता दिइरहे त्यसको भण्डाफोर गर्दै गम्भिर रुपमा प्रतिरोध गरिने पौडेलले बताउनुभयो ।