मकवानपुर– मकवानपुरको मकवानपुरगढी दरवारमा हरिवोधनी एकादशीको दिन आज भव्य एकादशी मेला लागेको छ । मकवानपुरगढी गाउँपालिका २ मा रहेको ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा बंशगोपालको मन्दिर रहेको र एक्त स्थानमा भव्य मेला लागेको हो ।
दरवार परिसरमा आज भक्तजनहरू मेला भर्न आएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । मकवानपुरगढी गाउँपालिको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, तथा हेटौंडा उपमहानगरपालिका, बकैया गाउपालिकाको विभिन्न स्थानबाट मेलामा आएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभएको छ । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष झैं ठुलो एकदशीमा जात्रा लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–१ मा पर्ने त्रीखण्डी मन्दिरमा पनि आज हरिबोधनी एकादशीका अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष एकादशीमा लाग्ने मेलामा मकवानपुर सहित छिमेकी बारा, पर्सा, रौतहट तथा चितवनका भक्तजनहरु दर्शनकालागि आउने गरेका छन् । मेला मकवानपुर जिल्लाकै सवैभन्दा पुरानोमध्येको एक भएकाले प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यस क्षेत्रमा भीड लाग्ने गरेको छ ।
मेलाले आन्तरिक तथा वाह्य पर्यटन प्रबर्दनमा समेत सहयोग पुग्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । मेलालाई व्यवस्थित बनाउन दुवै स्थानमा व्यापक रुपमा प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।