काठमाडौँ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई निर्वाचन समितिका विजय सुब्बाले शपथ ग्रहण गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष ओलीले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । चितवनको सौराहामा मंगलबार साँझ आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो ।
चितवनमा आयोजित महाधिवेशनबाट एमालेको अध्यक्षमा पूर्व प्रधानमन्त्री ओली पुनः निर्वाचित हुनुभएको थियो । अध्यक्ष ओलीले १८३७ मत पाउनुभएको छ भने अध्यक्षका लागि अर्का प्रत्याशी भीम रावलले २२३ मत प्राप्त गर्नुभएको नेकपा एमाले महाधिवेशन निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि आज बिहान निर्वाचन भएको थियो ।
यसैगरी एमालेमा ५ जना उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । अष्टलक्ष्मी शाक्यले १९ सय ७६ मत, सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८ सय ६५, विष्णु पौडेल १८ सय ५६, रामबहादुर थापा १७ सय ६८ मतका साथ विजयी हुनुभएको निर्वाचन प्रमुख सुब्बाले बताउनुभयो ।
यसैगरी सचिव पदमा गोकर्ण विष्ट १९ सय ७६, योगेश भट्टराई १९६४, छविलाल विश्वकर्मा १८ सय, पदमा अर्याल १८ सय, टोप बहादुर रायमाझी १७ सय र लेखराज भट्ट १७ सय ४ मत र रघुवीर महासेठ १५ सय १३ मत ल्याएर विजयी हुनुभएको हो । महाधिवेशनले ३ सय १ केन्द्रिय सदस्य निर्वाचित गरेको छ भने विभिन्न आयोगका अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको पनि चयन गरेको एमाले महाधिवेशन निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । विजयी हुने पदाधिकारी र सदस्यहरूको आजै पद तथा गोपनीयताको शपथ ग्रहण हुनेछ । चितवनमा मङ्सिर १० गतेदेखि सुरु भएको एमालेको दशौँ महाधिवेशनले १७ वटा प्रस्ताव पारित पारेको छ ।