हेटौंडा– हेटौंडा ९ स्थित प्रगति माविले शनिबार भर्चुअल माध्यमबाट अभिभावक भेलाको आयोजना गरेको छ । कोरोनाका कारण जारी लकडाउन र निषेधाज्ञाले पठनपाठन ठप्प रहेको अवस्थामा विद्यार्थीहरूको अवस्था र आगामी योजनाका विषयमा विद्यालयले अभिभावकहरूसँग छलफल गरेको हो ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको मात्र उपस्थितिमा गरिएको भेलामा कक्षा १२ को पठनपाठन तत्काल अनलाइनमाध्यमबाट सुरु गर्न अभिभावकले सुझाव दिएका छन् । बालबालिकाहरू पढाइमा ध्यान नदिने अवस्थामा पुगेको र मोबाइलमा गेम खेलेर दिन बिताउने गरेकोले अनलाइन कक्षाका माध्यमबाट तत्काल पठनपाठन सुरु भए सबै प्रकारको सहयोग गर्न तयार रहेको अभिभावकले बताएका छन् । प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले तत्काल अनलाइनका माध्यमबाट कक्षा १२ को पठनपाठन सुरु गर्ने बताउनुभयो । उहाँले अनलाइनबाट हुने कक्षामा अनिवार्य रुपमा विद्यार्थीलाई सहभागी गराउन अभिभावकलाई आग्रह गर्नुभयो ।

सहायक प्रधानाध्यापक किशोर पराजुलीले तत्काल विद्यालयमा भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले वैकल्पिक शिक्षालाई जोड दिएर अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले पनि अनलाइन कक्षामा बालबालिकालाई नियमित गराउन आग्रह गर्नुभयो । कक्षा ११ मा अहिले एक सय विद्यार्थी अध्ययनरत छन् । प्रगति माविले अहिले कक्षा ९ र १० को नियमित रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको छ भने अब तत्काल कक्षा १२ र ११ को पनि कक्षा सञ्चालनको तयारी गरिरहेको छ । भर्चुअल मिटिङमा अभिभावक र शिक्षकको सहभागिता रहेको थियो ।