मकवानपुर- मकवानपुरगढी गाउँपालिका ३ मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयको ३९ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । गढीगाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि हुमागाईले भानु माध्यमिक विद्यालय प्रदेश सरकारको २० नमुना विद्यालय मध्ये एक रहेकाले यसलाई अझै नमुना लायक बनाउन सबै लाग्नु पर्ने बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि शिक्षा अपरिहार्य भएकाले गाउँपालिकाले समेत शिक्षालाई विशेष प्राथमिक्ता दिएको बताउनुभयो । गाउँपालिकाले उक्त विद्यालयलाई चुलु आर्थिक वर्षमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले गुणस्तर युक्त नमुना सामुदायिक विद्यालय बनाउने उदेश्यका साथ आर्थिक सहयोग गरेको अध्यक्ष हुमागाईले बताउनुभयो । गाउँपालिकामै अब्बल विद्यालयका रुपमा परिचय बनाउन सकेको विद्यालयलाई आगामि दिनमा अझै अब्बल बनाउन गाउँपालिका सहयोग गर्न प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

शिशु कक्षा देखि कक्षा १२ सम्म अध्यन हुने उक्त विद्यालयमा कुल ४ सय ३ जना विद्यार्थी अध्यनरत रहेका छन् । भेलामा प्रधानाध्यापक राजेन्द्र थापाले विद्यालयको शैक्षिक प्रगति विवरण र भावी रणनीति प्रस्तुत गर्नुभएको थियो भने लेखापाल शान्ता प्रसाद दाहालले वार्षिक आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । लेखापाल दाहालले आर्थिक वर्ष २०७५-२०७६ मा कुल १ करोड ४८ लाख ७५ हजार ६ सय रुपैयाँको आय व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षक केदार तिमलसिनाले सहजिकरण गर्नुभएको थियो ।