file photo

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । आइसिसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औँ स्थानमा झरेको छ । यस अघि नेपाल १६ औँ स्थान रहेको थियो । नेपालले हालै पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको एक दिवसीय सिरिज गुमाएको थियो । टी–ट्वान्टी वरीयतामा नेपाल यथावत् रहेको छ । टी–ट्वान्टीमा नेपाल १३ औँ स्थानमा रहेको छ ।

एक दिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेको छ । काठमाडौँमा जारी नेपाल, मलेसिया र पपुवा न्यु गिनि सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्यु गिनीलाई मलेसियाले ९ रनले पराजित गरेको छ । पिएनजी सिरिजमा लगातार दोस्रो खेलमा पराजित हुन पुग्यो । टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । जवाफमा पिएनजी १९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो । पिएनजीका लागि टोनी उराको ५६ रन सर्वाधिक रह्यो । त्यस्तै नोर्मान भनुवाले ४५ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मलेसियाका लागि सर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिँदा महमद्द वाफीक र पवन दीप सिंहले समान ३–३ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रनको अर्ध शतकीय अविजित इनिङ खेल्दा कप्तान अहमद फैइजले ५६ रन बनाए । त्यस्तै साइद अजिज ४७ रनमा आउट भएका थिए । पिएनजीका लागि नोर्मान भनुवाले २ विकेट लिएका थिए ।