मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । पार्टी कार्यालयमा मंगलबार आज एक कार्यक्रमका बीच अध्यक्ष एकलाल श्रेष्ठसहित पदाधिकारी तथा केही सदस्यहरुले सपथ ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा ११औँ जिल्ला अधिवेशनको निर्वाचन समितिका प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराउनु भएको थियो । भने, अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीहरु जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराउनु भएको थियो ।
गत पुस २३–२४ गते सम्पन्न ११औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको थियो । कोरोना प्रभावका कारण आज अध्यक्षलगायत पदाधिकारी र पदाधिकारीमा उमेद्वारी दिएर सहमतिका लागि नाम फिर्ता लिनुभएका सदस्यहरुलाई मात्र सपथ ग्रहण गराईएको हो । बाँकी सदस्यहरुको सपथ ग्रहण केहि समय पछि हुने एमाले मकवानपुरले जनाएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् एमाले नेता डोरमणि पौडेलले गठबन्धन सरकार चुनावबाट भाग्न खोजेको भन्दै त्यसका बिरुद्धमा जनतालाई सुसूचित गराउन नवनिर्वाचित कमिटीलाई योजनाबद्ध रुपमा लाग्न सुझाव दिनुभयो । उहाँले अब छिटै नै निर्वाचनमा देश जाने भन्दै एमालेलाई मकवानपुर जिल्लामा पहिलेकै अवस्थामा कायम राख्ने गरि कार्य थाल्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य बलराम बलले सर्वसम्मत रुपमा चयन भएको जिल्ला कमिटीले आगामी निर्वाचनहरुमा एमालेलाई पहिलो पार्टी बनाउन शसक्त रुपमा लाग्नु पर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कृष्ण दाहालले एमाले बिरोधीहरुले छरेको भ्रम चिर्दै एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामका विषयमा जनतालाई जानकारी दिन आवश्यक रहेको र नवनिर्वाचित पार्टी कमिटीले त्यसतर्फ ध्यान दिने बताउनुभयो । सपथग्रहण समारोहमा अधिवेशन अध्यक्ष मण्डलका संयाेजक एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, एमाले बागमती प्रदेश सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, निवर्तमान जिल्ला अध्यक्ष बद्री लम्साललगायतकाको आतिथ्यता थियो ।