मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले तीनै तहका सरकारले संघीयताको मर्म अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकको अनुगमनका क्रममा उहाँले तीन तहका सरकारहरु संघीयता र संविधानको मर्म अनुसार निति र विधिमा रहेर सञ्चालन हुनुपर्ने बताउनुभयो ।

प्रमुख खुलालले समन्वय, सहजिकरण र सहअस्थित्व भन्ने संविधानको मर्म अनुसार तीनै तहका सरकारहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले संघीयता संस्थागत गर्ने क्रममा अहिले तीन तहका सरकार बिचमा समन्वयको अभाव जस्तो देखिएको भन्दै एकले अर्काको अस्थित्वलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । प्रमुख खुलालले जिल्ला समन्वय समितिले स्थानीय तहको अधिकार स्थापीत गर्ने काममा समन्वय र सजजिकरण गर्ने गरेको भन्दै सबैको सकारात्मक प्रयासबाट समृद्धि प्राप्त हुने बताउनुभयो । उहाँले निति र विधि रहेर आफुलाई समिक्षिा गर्दै अगाडी बढ्न समेत स्थानीय तहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कोभिडका कारण अघिल्लो वर्ष योजना कार्यान्वयनमा केहि अप्ठ्यारो भए पनि यो वर्ष समयमै योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले चालु आवको चैत्र मसान्त सम्ममा सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो । अध्यक्ष मल्लले स्थानीय तहहरुमा काम गर्दा विभिन्न ऐन कानुनहरुको अभाव रहेको समेत बताउनुभयो । उहाँले संघीय र प्रदेश सरकारले निर्माण गर्नुपर्ने ऐन नियमहरु नबनाईदिँदा थप समस्या भएको बताउनुभयो । कार्यक्रममा उपस्थित विभिन्न वडाका वडा अध्यक्षहरुले जिससले स्थानीय तहमा नियमित अनुगमन गर्नुपर्ने भन्दै संघीय र प्रदेश सरकारसंग आईपरेका समस्या समाधानमा समन्वय गर्न आग्रह गर्नुभयो । उहाँहरुले स्थानीय तहमा अहिले विकास निर्माण सुरु हुने अवस्था रहेको तर, ढुंगा,गीट्टी, बालुवाको अभावका कारण लक्ष्यमा पुग्न समस्या हुने देखेको समेत बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्मुख प्रसासकिय अधिकृत युवराज आचार्यले चालु आवको पहिलो चौमासिको प्रगति र हालसम्मको अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकाले ५१ करोड ३० लाख ३० हजार बरावरको बजेट विनियोजन गरेकोमा हालसम्म ११ दशमलव ४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको करीब ३ सय वटा योजना मध्ये पहिलो चौमासिकमा गर्नुपर्ने कामहरु उपभोक्ता समिति गठन, तालिम, लागत स्टिमेट तयार गरेर ३६ वटा योजना सम्झौता भएर ४ वटा सम्पन्न समेतख भईसकेको जानकारी दिनुभयो । उहाँले संघ र प्रदेश सरकारको नितिगत र कानुनी प्रकृया स्पट नहुँदा, यथेस्ट कानुन नहुँदा कार्यसम्पादनमा समस्या रहेको जानकारी दिनुभयो । यस्तै गाउँपालिकाको आफ्नै भवनको अभाव, विकटता, यातायात, जटिल भौगोलिक अवस्थालगायतका समस्या रहेको बताउनुभयो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिकाका उपाध्यक्ष निर्मला हिमडुङ, विभिन्न वडाका अध्यक्षहरु, कर्मचारीहरु तथा जिसस सदस्यहरु देवराज रिमाल सानुकान्छी स्याङतान, समन्वय अधिकारी आनन्नराज पोखरेललगायतको सहभागिता थियो ।