मकवानपुर – हेटौंडा उपमहानगरपालिका–४, स्थित कर्रा खोला सरसफाई गरिएको छ । शनिबार बिहान उपमहानगरपालिकाको आयोजनामा खोला सरसफाई गरिएको हो ।

कर्रा करीडोर निर्माणको क्रममा रहेको खोलाको छेउछाउ तथा बिचको भागमा अत्यधिक फोहोर भएपछि उपमहानगरपालिकाले सकृयता देखाएको हो । ‘सोँच, विचार र व्यवहारमा सुधारः पुनस्र्थापना गरौं हाम्रो जलाधार’ भन्ने नाराका साथ सरसफाई अभियान सुरु गरिएको छ । “हामीले खोला सरसफाई गर्नुका साथै फोहर नफाल्न स्थानीयलाई सचेत गराएका छौं” ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले भन्नुभयो । नदी सरसफाई अभियान कै क्रममा फोहोरमैला व्यवस्थापन गर्न र नदीको सरसफाइ कायम राख्न सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

कर्रा खोला सरसफाई अभियानमा उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शिवराज चौलागाई, सामाजिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, वातावरण शाखाका चन्दा खड्का, केशव देवकोटा, शसस्त्र प्रहरी, नगर प्रहरी, अन्य कर्मचारी, टोल विकास, स्थानीयबासीहरुको सहभागिता थियो ।










