मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको बताउनुभएको छ । प्रजातन्त्र दिवस–२०७८ का अवसरमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले लामो समयको संघर्षपश्चात देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्ने समयमा विदेशी अनुदानको विषयले राष्ट्रिय राजनीति नै जटिल मोडतर्फ धकेलेको टिप्पणी गर्नुभयो । ‘अनुदानले विवाद र नेपाली राजनीतिलाई अप्ठेरोमा पु¥याएको छ । हामी राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौं । योपनि गर्छौ भन्ने हाम्रो विश्वास हो ।’ उहाँले भन्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरु लागिपरेको समेत बताउनुभयो । “बागमतीमा तीन दलको गठबन्धनको सरकार रहेको छ । हामीले न्यूनतम साझा कार्यक्रम तय गरिसकेका छौं । सोही अनुसार हामीले काम पनि गरिरहेका छौं । केही समयमा तपाईंहरुले महसुस हुने गरी हामी काम गर्नेछौं ।” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले भोट घट्ने डरले सत्यकुरा बोल्नबाट राजनीति दलहरु डराइरहेको समेत बताउनुभयो । उहाँले समाजमा रहेको असत्य, कुरिति र गलत क्रियाकलापको विरुद्ध सवैले आवाज दरो बनाउन जरुरी रहेको बताउनुभयो । बागमती प्रदेश सरकारले तीनदिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार मूल समारोह समितिले शुक्रबार, शनिबार र आइतबार विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइरहेको छ ।