मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले लोकतन्त्रको रक्षा र समृद्धिका लागि सबैको सहकार्य अवश्यक रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवस–२०७८ का अवसरमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशमा लोकतन्त्र, राष्ट्रियताको रक्षा र समृद्धिका लागि सबैलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले धेरै नेता, कार्यकर्ता र शहीदहरुले रगत बगाएर २००७ सालमा प्रजातन्त्र आएको स्मरण गर्नुहुँदै विभिन्न जनयुद्ध, जनसंघर्ष, सडक आन्दोलन पश्चात २०६२/६३ मा राजतन्त्रलाई अन्त्य गरेको बताउनुभयो । प्रजातन्त्रकै कारण नेपाली जनता स्वतन्त्र हुन पाएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री पाण्डेले फरक प्रशंगमा हाल अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गर्नुभयो । लामो समयको संघर्षपश्चात देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्ने समयमा विदेशी अनुदानको विषयले राष्ट्रिय राजनीति नै जटिल मोडतर्फ धकेलेको उहाँले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरु लागिपरेको समेत बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु, सेना, प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।